माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले घरेलु टिमविरूद्ध प्रतिस्पर्धा गरिरहेको छ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदासम्म नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् ।
दुबै टोलीले गोलका केही राम्रा अवसर गुमाएका थिए।
साफ च्याम्पियनसिपको पहिलो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा उतारेका छन् । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा सेन्टर डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा सुमन अर्याल र गौतम श्रेष्ठ छन् ।
मिडफिल्डमा पुजन उपरकोटी र रोहित चन्दले रक्षात्मक भूमिका निर्वाह गर्दा तेज तामाङ सेन्टर मिडफिल्डमा छन् । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिएका छन् ।
नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
- नेपाल भर्सेस माल्दिभ्स - असोज १५ गते - राति ९:४५ बजे
- नेपाल भर्सेस श्रीलंका - असोज १८ गते - राति ९:४५ बजे
- नेपाल भर्सेस भारत - असोज २४ गते - राति ९:४५ बजे
- नेपाल भर्सेस बंगलादेश - असोज २७ गते - अपरान्ह ४:४५ बजे