असोज १५ देखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका लागि भारतले राष्ट्रिय फुटबल टिम घोषणा गरेको छ।
भारतका क्रोएसियन प्रशिक्षक इगोर स्टिमाकले २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
भारतीय टिम मंगलबार साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ।
यसपटकको साफमा भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
भारत साफ च्याम्पियनसिपको सबैभन्दा सफल टिम हो।। भारतले ७ पटक उपाधि जितेको छ।
साफका लागि नेपाली टिम भने कतारमा अभ्यास गरिरहेको छ। अभ्यासका क्रममा नेपालले आज राति ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाली टिम कतारबाटै माल्दिभ्स जाने कार्यक्रम छ। साफमा नेपालले पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग खेल्नेछ।
भारतले भने पहिलो खेल असोज १९ मा बंगलादेशसँग खेल्नेछ।
भारतीय टिम
गोलकिपर : गुरप्रित सिंह, अम्रिन्दर सिंह, विशाल कैथ
डिफेन्डर : प्रितम कोतल, सेरिटन फर्नान्डेज, चिङ्गलेङसना सिंह, राहुल भेके, सुभाषिस बोसे, मन्दर राओ देसाई
मिडफिल्डर : उदान्त सिंह, ब्रान्डन फर्नान्डेज, लालेङमाविआ, अनिरूद्ध थापा, सहल अब्दुल समाद, जेकसन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कोलाको, यासिर मोहमद
फरवार्ड : मनविर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी