युरो २०२० मा आज इंग्ल्यान्ड र जर्मनीबीच अन्तिम १६ को खेलमा प्रतिस्पर्धा हुँदैछ। लन्डनमा हुने खेल राति ९:४५ बजे सुरू हुनेछ। उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
समूह चरणका तीन खेलमा गोल नखाएको इंग्ल्यान्डले दुई गोल मात्र गर्न सक्यो। चेक र क्रोएसियालाई समान १-० गोलले पराजित गरेको इंग्ल्यान्डले स्कटल्यान्डविरुद्ध गोलरहित बराबरी खेल्यो।
जर्मनीले युरो २०२० को सुरुवात हारबाट गरेको थियो। फ्रान्सविरुद्ध १-० ले पराजित भएको जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित गर्यो। हंगेरीविरुद्धको खेल भने २-२ गोलको बराबरीमा सकिएको थियो।
जर्मनीले वेम्बलीमा इंग्ल्यान्डविरुद्ध खेलका पछिल्ला सात खेलमा पराजय भोगेको छैन। सात मध्ये पाँच खेलमा जर्मनी विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएका छन्।
अन्तिम १६ को अन्तिम खेलमा आजै १२:४५ मा स्विडेन र युक्रेनबीच खेल हुँदैछ। खेल स्कटल्यान्डको ग्लाजगोमा हुनेछ।
स्पेनविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको स्विडेनले स्लोभाकिया र पोल्यान्डलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
युक्रेन उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको हो। टिममा रोमन यरेमचुक र एन्ड्री यरमोलेन्कोले प्रभाव जमाइरहेका छन्।
स्विडेन २०२१ मा आठ खेलमा अपराजित छ। आठ मध्ये एक खेलमा मात्र बराबरी खेल्ने क्रममा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्यो।