नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच हिजोआज तारन्तार छलफल भइरहेको छ।
अध्यक्ष प्रचण्ड र नेपालबीचको बढ्दो भेटघाटको शृंखलाले दुई पार्टीको एकताको सम्भावना बढाएको एकीकृत समाजवादीका एक पोलिटब्युरो सदस्यले बताए।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबीच पछिल्लो समय बाक्लै भेटघाट भइरहेको छ। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी हुने नै भयो, सँगै पार्टी एकताबारे पनि कुराकानी हुने गरेको छ,’ ती नेताले भने।
उनका अनुसार अहिले एकताको छलफल दुई अध्यक्षको तहमा मात्रै छ। पार्टी कमिटीहरूमा भने छलफलले प्रवेश पाइसकेको छैन।
‘पहिले त आधारभूतरूपमा उहाँहरूबीच टुंगो लाग्नु पर्यो नि!। उहाँहरूबीच एकताको टुंगो लागेपछि बल्ल कमिटीमा प्रवेश गर्छ। कमिटीमा विशद छलफल भएर मात्रै निष्कर्षमा पुग्छ,’ उनले भने।
आज अपराह्न ३ बजे समाजवादी मोर्चाको बैठक बस्दैछ। मुद्दा मिल्नेहरूबीच मोर्चा बनाएर चक्रिय हिसाबले बैठकको अध्यक्षता गर्ने र राष्ट्रिय राजनीतिमा समान दृष्टिकोण तय गर्ने अभ्यास गर्न खोजिए पनि पछिल्लो समय त्यहाँ मतैक्य छैन।
हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका थिए।
उनी मोर्चा घटकहरूबीच एकताको पक्षमा देखिएका छैनन्। यसो हुँदा मोर्चाको कार्यसम्पादनमा गत्यावरोध उत्पन्न हुने दृष्टिकोण सार्वजनिक गरिरहेका छन्। अहिले मोर्चाको संयोजक पनि विप्लव नै हुन्।
एकीकृत समाजवादीका अर्का नेताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै एकताको प्रस्ताव गरिरहेको बताए।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा सामना गरिरहेको संकटले एकताको प्रस्तावको तहमा पुर्याएको पनि दाबी गरे।
‘पार्टीभित्र प्रचण्डविरूद्धको प्रश्न पेचिलो ढंगले उठिराखेको छ। उपमहासचिव जनार्दन शर्मा चुनौती बनिरहेको देखिन्छ। २०६४ पछि हाम्रो यात्रा किन ओरालो लाग्यो? यसको जिम्मा कसले लिने भन्ने जनार्दनको प्रश्न माओवादीभित्र सान्दर्भिक छ। बलियो र तर्कसंगत देखिन्छ,’ ती नेताले भने, ‘उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रचण्डको सम्बन्ध बिग्रिएकै छ। नेता शेखर कोइरालासँग सल्लाह बढाउँदा देउवा रिसाउनु स्वाभाविकै हो। चौतर्फी संकट बढिराखेका बेला मोचनका लागि एकताको प्रस्ताव गर्नु स्वाभाविकै हो।’
तर एकीकृत समाजवादीभित्र भने एकताको अवस्था नबनिसकेको बताए।
ती नेताका अनुसार अध्यक्ष माधवकुमार नेपाल पनि एकीकृत समाजवादीभित्र संकटपूर्ण अवस्थामा छन्।
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकाले र उक्ता मुद्दा विचाराधीन रहेकाले उनी कानुनी र नैतिक प्रश्नको घेरामा छन्। अदालतमा तारेख धाइरहँदा पार्टीभित्र नेतृत्व छाड्नुपर्ने दबाब आइरहेको छ। सम्मानित नेता झलनाथ खनालले त चीन जानुअघि पार्टीको नेतृत्वबाट हट्न भनेका थिए। त्यसपछि पनि पार्टीभित्र नेतृत्व छाड्नुपर्ने बहस भइरहेको छ।
‘माधव नेपाल इज्जत प्रतिष्ठाको ऋणमा रहेका बेला प्रचण्डले पार्टी नै एकता गरेर सस्तोमा सकार्न खोजेका हुनसक्छन्,’ ती नेताले भने, ‘तर पार्टीभित्र एकताको वातावरण बनिसकेको छैन। माओवादी केन्द्रसँग विश्वासको ठूलो संकट छ। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रबाट जुन धोका भयो, त्यसले एकतालाई झस्काइरहेको छ।’
उनले एकीकृत समाजवादी भित्रको अहिलेको मनोदशा दर्शाउन पछिल्लो समय चलेको एउटा गीतको अंशसमेत सुनाए।
‘अहिले हाम्रो अवस्था घाम सुक्यो रापले फकाउँछ काफ्ले जानु कि नजानू! भन्ने गीतजस्तै छ। काफ्लेले फकाएको फकायै छ। तर एकता कसरी, के आधारमा गर्ने केही भन्दैन?,’ उनले भने।
एकीकृत समाजवादीका सम्मानित नेता खनालले माअोवादी केन्द्रसँग तत्काल एकताको कुनै सम्भावना नरहेको बताए। उनले त्यस्तो छलफल भएको पनि आफूले थाहा नपाएको बताए।
‘माओवादीसँग एकताको कुनै कुरा भएको छैन। चर्चा पनि भएको छैन। यो सबै हल्ला हो। कसैको मनमा एकता गरौं भन्ने पनि हुनसक्छ। त्यस्तो चाहना राख्नेहरू माओवादीमा अहिले नै गइहाले हुन्छ। तर एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्दैन,’ उनले सेतोपाटीसँग भने।
उनले माअोवादी केन्द्रले प्रस्ताव गरेको भए पार्टी सचिवालय, केन्द्रीय कमिटीमा छलफलको कार्यसूची बन्नुपर्ने बताए।
‘को नेता कहाँ छलफल गर्छन्, त्यो पार्टीको विषय हुने कुरा भएन। तर एकीकृत समाजवादीभित्र एकताको कुनै छलफल भएको छैन,’ उनले भने।
पार्टीभित्र अरू नै मुद्दा प्रधान बनिरहेका बेला एकताको चर्चा प्रासंगिक नभएको पनि बताए।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि एकीकृत समाजवादीसँग एकता गर्नेबारे पार्टीभित्र कुराकानी नभएको बताए।
एकीकृत समाजवादीसँग एकता गर्ने हल्ला आइरहेको छ, यसमा कत्तिको सत्यता छ भनेर सेतोपाटीको प्रश्नमा उनले त्यस्तो कुराकानी नभएको बताए। ‘एकीकृत समाजवादीसँग एकताको कुराकानी भएको छैन,’ उनले भने।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्। एकीकृत समाजवादीका १० जना सांसद छन्। यी दुई पार्टीबीच एकता गर्ने भनेर यसअघि पनि विभिन्न चरणमा छलफल भएको थियो।
केन्द्रमा अध्यक्ष प्रचण्ड र माधव नेपालबीच सघन वार्तालाप चलेपछि नेताहरूले प्रदेशमा एकतालाई नै बल पुग्ने गरी फोन गर्न थालेका छन्।
उपमहासचिव हरिबोल गजुरेलले कोशी प्रदेशका माओवादी नेता ईन्द्र आङ्बोलाई फोन गरेर एकीकृत समाजवादीसँग एकता चर्चा भइरहेको विषयसमेत सुनाएको स्रोतको भनाइ छ।
एकीकृत समाजवादीसँग एकताको छलफल चलेपछि माओवादी केन्द्रका नेताहरू उत्साहित देखिएका छन्। एकीकृत समाजवादीभित्र भने अझै उत्साहको वातावरण बनिसकेको छैन।
माओवादी केन्द्रले पहिले विश्वासको वातावरण बनाउनुपर्ने उनीहरूको तर्क छ।