शहिद स्मारक 'ए डिभिजन लिग' आगामी असोज ३ गतेदेखि सुरू हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सोमबार क्लबहरूसँग छलफल गरेर असोज ३ गतेदेखि लिग सुरू गर्ने निर्णय गरेको जानकारी दिए।
उनले खेलाडीहरूको दर्ता प्रक्रिया भने साउन १५ गतेदेखि खुला गरिएको जनाए। तर लिग कहिले समापन हुने भन्ने मिति भने तय भएको छैन।
प्रवक्ता राईले कोरोना संक्रमणको जोखिम यथावत रहेका कारण समयमा लिग गर्न नसकिएको भन्दै सेतोपाटीसँग भने, 'अहिलेलाई संक्रमणको अवस्था हेरेर असोजमा लिग गर्ने भनिएको हो। तर फेरि महामारी फैलियो भने दर्शक राखेर गर्ने वा दर्शक नराखी गर्ने भनेर थप निर्णय गर्नुपर्छ। अहिलेको अवस्थामा संक्रमण विस्तारै घट्दै गएको देखिएकाले क्लबहरूसँग छलफल गरेर लिग असोजमा सुरू गर्ने भनिएको हो।'