१० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक गणतन्त्र युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका डि लिटले ५५ मिनेटमा रातो कार्ड पाएका थिए। सुरुमा पहेँलो कार्ड पाएका लिटलाई भिएआरमार्फत रेड कार्ड दिइएको थियो।
चेकका प्याट्रिक शिकलाई डिबक्स नजिक रोक्ने क्रममा लिटले हातले बल फर्काएको भिडियो रिप्लेमा देखिएको थियो।
नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेपछि सहज अवस्थामा पुगेको चेकले ६८ मिनेटमा खेलमा अग्रता लियो।
बराकको फ्रिकिकमा कालसले हेडमार्फत मिलाइदिएको पासमा टोमश होल्सले गोल गर्दै चेकलाई अग्रता दिलाए।
८० मिनेटमा चेकले अग्रता दोब्बर पार्यो। उसका लागि प्याट्रिक शिकले दोस्रो गोल गरे। होल्सले दिएको उत्कृष्ट पासमा शिकले दोस्रो गोल गरेका हुन्।
१० खेलाडीमा सीमित हुनुअघि नेदरल्यान्ड्सका डेनयल मालेनले गोल गर्ने पाएको सुन्दर मौका खेर फालेका थिए। वान भर्सेस वानको अवस्थामा उनको प्रहारलाई चेकका गोलकिपरले विफल पारे।
अब चेकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।