युइएफए युरो २०२० मा आज अन्तिम १६ का दुई खेल हुँदैछन्। बुडापेस्टमा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेकबीच खेल हुँदैछ। खेल राति ९:४५ बजे सुरु हुनेछ।
समूहमा सबै खेल जितेको नेदरल्यान्ड्सले प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरिसकेको छ। सन् २०१६ को युरो कप र २०१८ को विश्वकपमा छनोट हुन नसकेको पिडा नेदरल्यान्ड्स युरो २०२० मा उत्कृष्ट खेलेर बिर्साउँदैछ।
समूह चरणमा नेरल्यान्ड्सले आठ गोल गरेको थियो। जसमा विज्नाल्डमले तीन गोल गरेका थिए। यस्तै डेन्जल डमफ्राइसले पनि दुई गोल गर्न सफल भएका छन्।
उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको चेकले पहिलो खेलमा स्कटल्यान्डलाई २-० ले हराउँदा क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको थियो।
इंग्ल्यान्डसँग झिनो अन्तरले पराजित भएको चेकका लागि प्याट्रिक शिकले उत्कृष्ट खेल देखाइरहेका छन्।
सन् २००४ को युरो कपको समूह चरणमा नेदरल्यान्ड्समाथि चेकले २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेको थियो।
आइतबारको दोस्रो खेलमा बेल्जियम र पोर्चुगलबीच राति १२:४५ बजे सेभियामा खेल हुनेछ।
साविक विजेता पोर्चुगलविरुद्धको खेलमा बेल्जियमका प्लेमेकर केभिन डे बुएन र फरवार्ड रोमेलु लुकाकुको खेल हेर्नलायक हुन सक्छ।
बुएनले युरो २०२० मा एक गोल र दुई एसिस्ट गरिसकेका छन् भने लुकाकुले तीन गोल गरेका छन्। यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि उच्च फर्ममा छन्। जारी प्रतियोगितामा पाँच गरिसकेका रोनाल्डोले कीर्तिमान बनाइरहेका छन्।
समूह चरणको पहिलो खेलमा हंगेरीलाई हराएको पोर्चुगल दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो। अन्तिम खेलमा फ्रान्ससँग बराबरी खेलेसँगै पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको हो।
अघिल्लो युरो कपमा पनि पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको थियो। पछि उपाधि नै जित्यो। यसपटक पनि पोर्चुगलले इतिहास दोहोर्याउन सक्ला?