विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले अहिले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।
कुवेत सिटीमा जारी खेलको पहिलो हाफमा नेपाल २-० गोलले पछि परेको छ।
खेलको छैटौं मिनेटमा अस्ट्रेलियाले अग्रता लियो। उसका लागि म्याथ्यु लकीले पहिलो गोल गरे।
३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गरे।
खेलको ४५ मिनेटमा नेपाल १० खेलाडीमा सीमित बन्यो। नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ।
१८ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ६ वटै खेलमा जित हात पारेको छ। दोस्रोको स्थानको जोर्डनको १० अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ।
नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।
नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।
खेलको जानकारी
खेल : नेपाल भर्सेस अस्ट्रेलिया
प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)
स्थान : कुवेत सिटी, कुवेत
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन
फिफा वरीयता : अस्ट्रेलिया (४१), नेपाल (१७१)
हेड टु हेड
खेल : १
नेपाल : १ हार
अस्ट्रेलिया : १ जित (५-०) को जित
के भन्छन् प्रशिक्षक?
अब्दुल्लाह अलमुताइरी (नेपाल)
यदि सबै राम्रो भएमा युवा खेलाडीले अस्ट्रेलियाविरुद्ध खेल्नेछन्। अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने थाहा छ। तर युवा खेलाडीलाई खेल्न मौका दिनु पर्ने कुरा पनि महत्वपूर्ण हो।
हामीले अस्ट्रेलियाविरुद्ध राम्रो खेल खेल्नेमा आशावादी छु। हाम्रो खेल्ने शैलीमा सुधार आएको छ। हामीले समर्थकलाई खुसी बनाउन सकेका छौं।
ग्राहम अर्नोल्ड (अस्ट्रेलिया)
नेपालले कडा मिहिनेत गरिरहेको छ। नेपालसँग खेल्न उत्साहित छौं।
उनीहरुले फरक शैलीमा खेलिरहेका छन्। प्रशिक्षकले राम्रो गरिरेहका छन्। हामी नेपाली टिमलाई सम्मान गर्छौं। नेपाल परिश्रमी टिम हो।