फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत समूह 'एच' को खेलमा दक्षिण कोरियाले सानदार जित हात पारेको छ।
कोरियाले तुर्केमिनिस्तानलाई शनिबार भएको खेलमा ५-० गोलले हरायो।
कोरियाका लागि हवाङ उइजोले नवौं र ७२ मिनेटमा गरी दुई गोल गरे। यस्तै नाम ताइहीले पहिलो हाफको इन्जुरी टाइम, किम योङले ५६ मिनेट र क्वान चाङगुनले ६२ मिनेटमा गोल गरे।
जितसँगै कोरिया चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको लेवनानको पनि १० अंक छ।
लेवनानले शनिबार भएको खेलमा श्रीलंकालाई ३-२ गोलले पराजित गर्यो।
तुर्केमिनिस्तान ६ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको श्रीलंकाले भने अंक जोड्न सकेको छैन।
यो समूहमा उत्तर कोरियाले कोरोना भाइरसका कारण छनोटबाट नाम फिर्ता लिएको थियो।
यता समूह 'ए' को खेलमा सिरियाले माल्दिभ्सलाई ४-० गोलले पराजित गर्यो। सिरियाले तीन गोल पेनाल्टीबाट गरेको थियो।
जसमा अल मावासले दुई गोल पेनाल्टीमा गरे। थप एक गोल गरेका उनले ह्याट्रिक पूरा गरे।
यस्तै ओस्मानले पनि पेनाल्टीमै गोल गरेका थिए।
समूहमा सिरिया लगातार छैटौं खेलमा जित हात पार्दै १८ अंक जोडेर शीर्ष स्थानमा छ।
दोस्रो स्थानको चीनको ५ खेलबाट १० अंक छ। तेस्रो स्थानको फिलिपिन्सको ७ अंक छ भने चौथो माल्दिभ्सको ६ अंक रहेको छ।
पुछारको गुआमले अंक जोड्न सकेको छैन।