फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपाल सम्मिलित समूहमा 'बी' मा अस्ट्रेलिया लगातार पाँचौ खेलमा विजयी भएको छ।
अस्ट्रेलियाले बिहीबार अबेर राति सकिएको खेलमा घरेलु टिम कुवेतलाई ३-० गोलले पराजित गरेको हो।
अस्ट्रेलियाको जितमा लेकीले पहिलो मिनेटमै गोल गरे। इर्भिनले २४ मिनेटमा गोल गर्दा रुस्टिकले ६६ मिनेटमा तेस्रो गोल गरे।
जितसँगै अस्ट्रेलियाले समूहमा १५ अंक जोडेको छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
नेपाल ६ अंक जोडेर चौथो स्थानमा छ। पुछारको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन। नेपालले दोस्रो जित निकाल्ने क्रममा बिहीबार राति ताइपेईलाई २-० गोलले पराजित गरेको थियो।
यता 'ई' को खेलमा भारत पराजित भएको छ। भारतलाई घरेलु टिम कतारले १-० गोलले पराजित गर्यो।
भारत खेलको १७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। उसका भेके दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिएका थिए।
३३ मिनेटमा कतारले अब्देलाजिजको गोलबाट भारतबिरुद्ध अग्रता लियो।
यो समूहको अर्को खेलमा बंगलादेश र अफगानिस्तानले १-१ गोलको बराबरी खेले।
समूहमा कतार १९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको ओमानको १२ अंक छ। तेस्रो स्थानको अफगानिस्तानको ५ अंक छ भने चौथो स्थानको भारतले ३ अंक मात्र जोड्न सकेको छ। पाँचौ स्थानको बंगलादेशले २ अंक मात्र बटुलेको छ।