फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज राति नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।
खेलका लागि नेपालले दुई परिवर्तन गरेको छ। इराकविरुद्ध खेलेको नेपाली टिममा दुई परिवर्तन गर्ने क्रममा नेपालले सुनील बल र आशिष लामालाई पहिलो रोजाइमा खेलाउने भएको छ।
अघिल्लो खेलमा पहिलो रोजाइमा खेलेका मनिष डाँगी र नवयुग श्रेष्ठको स्थानमा बल र लामालाई मौका दिइएको हो।
समूह 'बी' को चौथो स्थानमा रहेको नेपालका लागि खेल महत्वपूर्ण छ। ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ,गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर : सुमन लामा, सन्तोष तामाङ, पुजन उपरकोटी
फरवार्ड : सुनील बल,आशिष लामा, अन्जन विष्ट
खेलको जानकारी
खेल : नेपाल भर्सेस चाइनिज ताइपेई
प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)
स्थान : कुवेत सिटी, कुवेत
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन
फिफा वरीयता : ताइपेई (१४१), नेपाल (१७१)
हेड टु हेड
खेल : २
नेपाल : १ जित, १ बराबरी
ताइपेई : १ हार, १ बराबरी
के भन्छन् प्रशिक्षक?
अब्दुल्लाह अलमुताइरी (नेपाल)
कुवेतको मौसममा खेल्न सजिलो छैन। त्यसैले दुवै टिमका लागि गाह्रो हुनेछ।
हामी समूहमा चौथो स्थान पक्का गर्दै एएफसी एसियन कप छनोटमा अवसर पाउन चाहान्छौ। त्यसका लागि हामी जितको लागि खेल्छौं।
छनोटको तयारी गर्न धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौ। हामीसँग प्रतिभाशाली युवा खेलाडीले भरिएको टिम छ। त्यसैले हामीले खेलाडीहरूलाई अघि बढ्न साथ दिनुपर्छ।
भोम काहुम (ताइपेई)
कुवेतको मौसममा भिज्न गाह्रो भइरहेको छ। हाम्रो मुख्य चुनौती नै यहाँको मौसम भइरहेको छ।
हाम्रा मुख्य खेलाडी र विदेशमा खेलिरहेका खेलाडी कोभिडको कारण टिममा छैनन्। नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने आसा गरेको छु।
पछिल्ला खेलको नतिजा
ताइपेई
कोरोना भाइरसको संक्रमण सुरू भएपछि ताइपेईले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन।
त्यसअघि ताइपेईले विश्वकप छनोटमा खेलेका पाँचै खेलमा हार बेहोरेको थियो।
छनोटमा ताइपेई जोर्डनसँग २-१, नेपालसँग २-०, अस्ट्रेलियासँग ७-१, कुवेतसँग ९-० र जोर्डनसँग दोस्रो खेलमा ५-० ले पराजित भएको थियो।
पछिल्ला पाँच खेलमा उसले २५ गोल खाँदा २ गोल गर्न सकेको छ।
त्यसअघि ११ जुन २०१९ मा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा भने उसले २-० को जित हात पारेको थियो।
नेपाल
नेपालले कोरोना भाइरसपछि ६ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ।
यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार बेहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।
यस्तै नेपालले कीर्गिस्तानको यु२३ टिमसँग पनि प्रतिस्पर्धा गर्यो। थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको सो खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो।
गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६-२ गोलले पराजित भयो।
नेपालले कोरोनापछि खेलेका ६ खेलमा ९ गोल खाँदा ४ गोल गरेको छ। ६ मध्ये नेपालले चार खेलमा गोल गर्न सकेको छैन।
कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँच मध्ये चार खेलमा पराजित भयो।
नेपालले विश्वकप छनोटमा कुवेतसँग १-० र ७-० को हार बेहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलले पराजित भयो।
ताइपेईलाई २-० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३-० को हार बेहोर्यो। कोरोनाअघि खेलेका पछिल्ला ६ खेलमा नेपालले १९ गोल खायो भने केवल २ गोल गर्न सक्यो।
सम्बन्धित समाचारहरू :-
एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण
नेपाल भर्सेस चाइनिज ताइपेई : यस्तो छ दुवै टिमको पछिल्ला खेलको नतिजा
नेपालका प्रशिक्षक भन्छन्- ताइपेईविरुद्ध जितका लागि खेल्नुपर्छ
नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ