फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा खेल्न बाँकी तीन खेल मध्ये नेपालले पहिलो खेल बिहीबार राति खेल्दैछ।
कुवेत सिटीमा राति पौने दश बजे नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्न लागेको हो।
समूह 'बी' मा रहेको नेपालका लागि ताइपेईविरुद्धको खेल एसिया कप तेस्रो चरणको छनोट प्रवेशका लागि महत्वपूर्ण छ।
हेड टु हेड
नेपाल र ताइपेईबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुई मध्ये एक खेलमा जित र एक खेलमा बराबरीमा रोकिएको नेपाल ताइपेईविरुद्ध अपराजित छ।
नेपालले पहिलो पटक ६ जुन २०१९ मा ताइपेईसँग खेलेको थियो। नेपाल र ताइपेईविरुद्धको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। घरेलु मैदानमा ताइपेईले पहिलो अग्रता लिएको थियो। नेपालका लागि अभिषेक रिजालले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।
नेपालले तीन महिनापछि ताइपेईसँग दोस्रो खेल खेल्यो। विश्वकप छनोटअन्तर्गत १० सेप्टेम्बर २०१९ मा ताइपेई भएको खेलमा नेपाल २-० गोलले विजयी भयो। नेपालको जितमा दुवै गोल अञ्जन विष्टले गरेका थिए।
पछिल्ला खेलको नतिजा
ताइपेई
कोरोना भाइरसको संक्रमण सुरू भएपछि ताइपेईले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन।
त्यसअघि ताइपेईले विश्वकप छनोटमा खेलेका पाँचै खेलमा हार बेहोरेको थियो।
छनोटमा ताइपेई जोर्डनसँग २-१, नेपालसँग २-०, अस्ट्रेलियासँग ७-१, कुवेतसँग ९-० र जोर्डनसँग दोस्रो खेलमा ५-० ले पराजित भएको थियो।
पछिल्ला पाँच खेलमा उसले २५ गोल खाँदा २ गोल गर्न सकेको छ।
त्यसअघि ११ जुन २०१९ मा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा भने उसले २-० को जित हात पारेको थियो।
नेपाल
नेपालले कोरोना भाइरसपछि ६ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ।
यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार बेहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।
यस्तै नेपालले कीर्गिस्तानको यु२३ टिमसँग पनि प्रतिस्पर्धा गर्यो। थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको सो खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो।
गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६-२ गोलले पराजित भयो।
नेपालले कोरोनापछि खेलेका ६ खेलमा ९ गोल खाँदा ४ गोल गरेको छ। ६ मध्ये नेपालले चार खेलमा गोल गर्न सकेको छैन।
कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँच मध्ये चार खेलमा पराजित भयो।
नेपालले विश्वकप छनोटमा कुवेतसँग १-० र ७-० को हार बेहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलले पराजित भयो।
ताइपेईलाई २-० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३-० को हार बेहोर्यो। कोरोनाअघि खेलेका पछिल्ला ६ खेलमा नेपालले १९ गोल खायो भने केवल २ गोल गर्न सक्यो।