यो वर्ष हुने तय ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा नहुने भएको छ। दक्षिण अमेरिकी फुटबल महासंघले अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ कोपा अमेरिका नगर्ने निर्णय गरेको हो।
अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेको छ। पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट सार्नु परेको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको छ।
यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा आयोजना गर्ने तय थियो। तर कोलम्बियामा राजनीतिक आन्दोलन चर्किएपछि कोलम्बियालाई सहआयोजकबाट हटाइएको थियो।
प्रतियोगिता दुई देशका ९ शहरमा हुने बताइएको थियो। जसमा अर्जेन्टिनाका ५ शहर र कोलम्बियाका ४ शहर रहेका थिए।
यस वर्षको कोपा अमेरिका १३ जुन देखि १० जुलाईसम्म हुने तय छ।
अर्जेन्टिना र कोलम्बियामा कोपा नहुने भएपछि अब चिली वा अमेरिकामा गर्ने विषयमा छलफल भइरहेको छ।
यसअघि गत वर्ष आयोजना हुने तय भएको कोपा कोरोनाका कारण एक वर्ष धकेलिएको थियो।
कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन्।
यस्तै आमन्त्रित टिमका रुपमा एसियाका कतार र अस्ट्रेलियाले पनि खेल्दा १२ टिम कोपा हुने बताइए पनि अहिले दुवै एसियन टिमले भाग नलिने भएका छन्।