नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि आठ खेलाडी परिवर्तन गरिएको छ।
इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विश्वकप छनोटको तयारीका लागि बोलाइएको बन्द प्रशिक्षणका लागि आठ खेलाडी परिवर्तन गरिएको हो।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अघिल्लो महिना बोलाइएको खेलाडी मध्येमा आठ खेलाडी परिवर्तन गरेका हुन्।
टिममा गोलकिपर विकेश कुथु हटाइएका छन्। कुथुको कप्तानीमा काठमाडौं रेजर्सले शनिबार सम्पन्न नेपाल सुपर लिगको उपाधि जितेको थियो।
यस्तै टिमबाट डिफेन्डरद्वय अजित भण्डारी र छिरिङ गुरुङ पनि हटेका छन्। मिडफिल्डरहरू त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, प्रकाश बुढाथोकी र श्यान्सु भुसाल टिमबाट आउट भएका छन्।
टिममा डिफेन्डरहरू कमल थापा, अमित तामाङ र सुमन अर्यालले मौका पाएका छन्। यस्तै मिडफिल्डरहरू नितिन थापा, सुजर ज्यू ठकरी, पुजन उपरकोटी र आयुष घलान पनि टिममा समावेश भएका छन्। फरवार्ड आशिष लामाले पनि टिममा स्थान पाएका छन्।
नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ।
विश्वकप तथा एसियन कपको छनोटको तयारीका क्रममा मैत्रीपूर्ण खेल हुन लागेको हो।
नेपाल र इराकबीच यसअघि तीन पटक प्रतिस्पर्धा भएको छ। तीनै खेलमा इराक विजयी भएको थियो। पछिल्लो पटक २००१ मा भएको विश्वकप छनोटमा इराकले नेपाललाई ४-२ गोलले पराजित गरेको थियो।
फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ।
नेपालले फिफा विश्वकप २०२२ तथा एएएफसी एसियन कप २०२३ को दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको छ। समूह 'बी' रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
छनोटअन्तर्गत नेपालले आगामी जुन पहिलो साता जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ। समूहका सबै खेल कुवेतमा हुनेछन्।
नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपालले छनोटका लागि आगामी जेठ ३ बाट तयारी सुरु गर्दैछ। तयारीका लागि प्रशिक्षक अब्दुल्लाहले ३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरिसकेका छन्।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल, कमल थापा, अमित तामाङ
मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, विशाल राई, सुनील बल, रवि पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, अन्जन विष्ट, नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी, सुमन लामा
फरवार्ड : दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा