स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन्।
बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले।
पहिलो लेगमा ३-१ गोलमा विजयी भएको रियल समग्रमा पनि ३-१ ले अघि रहँदै सेमिफाइनलमा पुगेको हो।
म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई समग्रमा ४-२ गोलले पछि पार्दै अन्तिम चारमा स्थान बनायो।
पहिलो लेगमा २-१ गोलले विजयी भएको सिटीले दोस्रो लेगमा पनि २-१ गोलकै जित निकाल्यो। सिटीको जितमा महारेजले ५५ मिनेटमा पेनाल्टीमा र फोडेनले ७५ मिनेटमा गोल गरेका थिए।
त्यसअघि १५ मिनेटमा बेलिङघमले गोल गरेर डर्टमुन्डलाई अग्रता दिलाएका थिए।
यससँगै च्याम्पियन्स लिगको सेमिफाइनलको समिकरण पूरा भएको छ। सेमिफाइनलमा अब पिएसजी र म्यानचेस्टर सिटी तथा रियल म्याड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनलको पहिलो लेग अप्रिल २७ र दोस्रो लेग ४ मेमा हुनेछ।