‘इटालियन सिरि ए’ मा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ। युभेन्ट्सले शनिबार राति भएको खेलमा टोरिनोसँग २-२ गोलको बराबरी खेलेको हो।
खेलको १३ मिनेटमा चिएसाको गोलबाट युभेन्ट्सले अग्रता लियो।
त्यसपछि टोरिनोका लागि सानाब्रियाले दुई गोल गरे। उनले खेलको २७ मिनेटमा बराबरी गोल फर्काए। ४६ मिनेटमा टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो २-१ ले अघि बढ्यो।
७९ मिनेटमा युभेन्ट्सले बराबरी गोल फर्काउन सफल भयो। युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले बराबरी गोल गर्दै टिमको सम्भावित हार टारे।
लिगको अर्को खेलमा शीर्ष स्थानको इन्टर मिलानले बोलोग्नालाई १-० गोलले हराएको छ।
अंक तालिकामा शीर्ष स्थानको इन्टरको २८ खेलबाट ६८ अंक छ। दोस्रो स्थानको एसी मिलानको २९ खेलबाट ६० अंक र तेस्रो स्थानको एटलान्टानको ५८ अंक छ।
युभेन्ट्स २८ खेलबाट ५६ अंक जोड्दै चौथो स्थानमा छ।