विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि १–० को कठिन जित निकाल्दै पोखरामा जारी १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सृुरुआत गरेको छ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले खेल सकिन तीन मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै आजबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
पहिलो जितसँगै विभागीय टोली एपिएफ सेमिफाइनलमा पुगेको छ। दुई वर्ष अघि पनि सहारालाई उद्घाटन खेलमै पराजित गरेर अघि बढेको एपिएफले फेरि एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। खेलको ८७ औं मिनेटमा आशिष लामाले प्रदीप लामाको पासमा जाली चुमाउन सफल भएका थिए। अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुँनेछ।
साहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट नगद ३५ हजारसहित सम्मान पनि गर्यो।