फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत जापानले मंगोलियामाथि फराकिलो अन्तरको जित निकालेको छ।
समूह 'एफ' को खेलमा मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० गोलले पराजित गरेको हो।
जापानले घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा पाँच गोल गर्दा दोस्रो हाफमा नौ गोल गरेको थियो।
जापानका लागि युया ओसाकोले ह्याट्रिक गर्दा शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले दुई-दुई गोल गरे। ताकुमी मिनामानो, डिइची कामादा हिडेमासा मोरिता र ताकुमा असानोले एक एक गोल थपे। मंगोलियाका तुयाले आत्मघाती गोल गरे।
समूह 'एफ' मा जापान पाँच खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ। मंगोलिया एक जित निकालेर पाँचौ स्थानमा छ।
एसियाली फुटबल महासंघले विश्वकप तथा एसियन कप छनोटको बाँकी खेल अब जुनमा गर्ने निर्णय गरेको छ।
जुनमा खेल आयोजना गर्दा एक समूहको खेल एक देशमा मात्र हुनेछ।
जुनमा हुने छनोटमा नेपालले तीन खेल खेल्न बाँकी छ। नेपाल रहेको समूह 'बी' को खेल कुवेतमा हुनेछ। कुवेतमा नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्नेछ। नेपाल एक जित निकालेर ३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।