नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरिन्।
रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन्।
सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाएका छन्। सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको छ।
गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको छ।
त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ।
सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए।
क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ। प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन्।
