इंग्लिस क्लब म्यानचेस्टर सिटीको लागि सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका स्ट्राइकर सर्जियो अग्युरोले सिजनको अन्त्यबाट क्लब छाड्ने भएका छन्।
३२ वर्षीय अग्युरो र सिटीबीचको सम्झौता सिजनको अन्त्यबाट सकिँदै छ।
सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट सिटीमा आबद्ध भएका अर्जेन्टाइन स्ट्राइकर अग्युरोले सिटीका लागि ३८४ खेलमा २५७ गोल गरेका छन्।
सिजनको अन्त्यबाट बिदा लिने भएपछि सिटीले उनलाई विशेष सम्मान दिने भएको छ।
सिटीले सन् २०१२ मा ४४ वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा उनले अन्तिम खेलमा निर्णायक गोल गरेका थिए।
त्यसयता उनले सिटीबाट तीन प्रिमियर लिगको उपाधि जित्दा एउटा एफए कप र पाँच लिग कपको उपाधि हात पारे।