थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेशबीच सोमबार प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह ५:३० मा सुरू हुनेछ।
नेपालले किर्गिस्तान र बंगलादेश दुवै टिमविरुद्ध गोलरहित बराबरी खेल्दै फाइनल यात्रा तय गरेको हो। बंगलादेशले भने पहिलो खेलमा किर्गिस्तानमाथि १-० को जित निकालेको थियो।
गोल नै नगरी फाइनल पुगेको नेपालको मुख्य समस्या अग्रपंक्तिमा देखिएको छ।
नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन फाइनलअघिका दुई खेलमा राम्रो खेलेको दाबी गर्छन्। अब फाइनलमा गल्ति सुधार गर्दै उपाधि जित्ने उनको भनाइ छ।
'हामीले सोचे अनुसार नै खेलेका छौं। अब हाम्रो लक्ष्य फाइनलमा गोल गर्ने हुनेछ,' उनले फाइनलअघिको पत्रकार सम्मेलनमा भने।
नेपालका कप्तान किरण चेमजोङ पनि आफ्नो कप्तानीमा उपाधि जित्न चाहान्छन्। त्यसका लागि उनले सोमबारको खेलमा नेपाली फरवार्डले गोल गर्ने आसा व्यक्त गरे।
फाइनलअघि भएका तीन मध्ये दुई खेलमा गोल भएका छैनन्। यस्तै बंगलादेशले किर्गिस्तानविरुद्ध जित हात पार्दा आत्मघाती गोलको उपहार पाएको थियो।
प्रतियोगितामा गोल नभएकोमा बंगलादेशका प्रशिक्षक जेम्स डे पनि खुसी छैनन्। उनले फाइनलमा खेलमा घरेलु टिमलाई फाइदा हुने बताए। साथै फाइनलमा उनले गोल भएर राम्रो खेल हुने अपेक्षा व्यक्त गरे।
त्यसो त नेपालले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसकेको ७ खेल भइसकेको भने १८ महिना नाघिसकेको छ।
सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध गोल गरे यता नेपाली टिम जितबिहीन र गोलबिहीन छ। त्यसैले सोमबारको फाइनल खेल नेपालका लागि गोल र जितको खडेरी तोडेर उपाधि जित्ने अवसर छ।