थ्री नेसन्स कप फुटबलअन्तर्गत अहिले नेपाल र बङ्गलादेशबीच खेल भइरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
२० मिनेटमा त्रिदेव गुरूङको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका अन्जन विष्टको हेड प्रहार पोस्ट माथिबाट बाहिरियो।
२३ मिनेटमा त्रिदेवको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।
फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ। बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको कपको फाइनलमा प्रवेश गरिसकेको छ।
बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो।
नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ।
नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ। फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ।
सबै तस्बिर: निशा भण्डारी















