फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी, इंग्ल्यान्ड र इटाली विजयी भएका छन्।
जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गर्यो। समूहमा 'जे' को खेलमा जर्मनीका लागि गोरेज्का, हाभर्ट्ज र गुन्डोआनले गोल गरे।
इंग्ल्यान्डले समूह 'आइ' को खेलमा सान मारियोमाथि ५-० को जित निकाल्यो। इंग्ल्यान्डका लगि कल्भर्ट लेविनले दुई गोल गर्दा वार्ड प्रोस, स्टर्लिङ र वाट्किन्सले एक-एक गोल थपे।
इटालीले उत्तरी आयरल्यान्डलाई २-० गोलले हरायो। समूह 'सी' को खेलमा इटालीका लागि बेरान्डीले १४ मिनेट र इमोबिनले ३८ मिनेटमा गोल गरेका थिए।
यता स्पेनलाई ग्रिसले १-१ गोलको बराबरीमा रोक्यो। समूह 'बी' को खेलमा ३३ मिनेटमा मोराटाले गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए। तर ५६ मिनेटमा ग्रिसका बाकासेटासले पेनाल्टीबाट बराबरी गोल फर्काए।
यो समूहको अर्को खेलमा स्विडेनले जर्जियालाई १-० गोलले पराजित गर्यो। स्विडेनको जितमा क्लासेनले गोल गरे। उनलाई गोल गर्न पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका इब्राहिमोभिचले पास दिए।