मंगलबारदेखि सुरू भएको थ्री नेसन्स कपमा बंगलादेशले विजयी सुरूआत गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिस्तान यु-२३ टिमलाई १-० गोलले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो।

खेलको २९ मिनेटमा किर्गिस्तानका कुमारबाजुलुले आफ्नै पोस्टमा गोल गरेका थिए।
बंगलादेशका मोहमद साद उदिनको क्रस रोक्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गर्न पुगे।

जितसँगै बंगलादेशले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेपाल र किर्गिस्तानबीच खेल हुनेछ। शनिबार नेपाल र बंगलादेशबीच लिग चरणको अन्तिम खेल हुनेछ।

तीन टिम एकआपसमा भिडेपछि अंक तालिकाका शीर्ष दुई टिमबीच आगामी सोमबार फाइनल खेल हुनेछ।
दशरथ रंगशालामा एक वर्षपछि दर्शकसहितको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो।
यसअघि गत वर्षको मंसिरमा रंगशालामा १३औं सागको खेल भएको थियो।











सबै तस्बिर: निशा भण्डारी