फ्रेञ्च फरवार्ड केलियन एमबाप्पेले फ्रान्सको शीर्ष डिभिजनको लिगमा सय गोल पूरा गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका छन्।
पिएसजीका खेलाडी एमबाप्पेले आइतबार राति लियोनविरुद्धको खेलमा दुई गोल गरेसँगै फ्रेञ्च लिग वानमा सय गोल पूरा गरे।
२२ वर्षीय एमबाप्पेले सन् २०१५ देखि २०१८ सम्म मोनाकोबाट खेल्दा १६ गोल गरेका थिए। त्यसपछि पिएसजीमा आबद्ध भएका उनल ८४ गोल गरे।
यसअघि फ्रान्सको शीर्ष डिभिजनमा सय गोल पूरा गर्ने कान्छा खेलाडीको रेकर्ड हेर्वे रेभेलीको नाममा थियो। उनले सेन्ट इटियनबाट खेल्दै सन् १९६९ मा फ्रेञ्च शीर्ष डिभिजनमा सय गोल पूरा गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए।
एमबाप्पेले रेकर्ड बनाएको खेलमा पिएसजी ४-२ ले विजयी भयो। जितसँगै पिएसजी अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
पिएसजीले ३० खेलबाट ६३ अंक जोडेको छ। दोस्रो स्थानको लिलेको पनि समान ३० अंक नै छ। लियोन ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।