आगामी वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा सहभागी सात टिमका मार्की खेलाडीको टुंगो लागेको छ।
धनगढी एफसीले सबैभन्दा पहिला आफ्नो प्रमुख खेलाडी सार्वजनिक गर्ने क्रममा विशाल राईसँग सम्झौता गरेको थियो। धनगढीको प्रशिक्षकमा नाइजेरियन नागरिक तोपे फुजा छन्।
यस्तै ललितपुर सिटी एफसीमा अन्जन विष्ट मार्की खेलाडीको रुपमा आबद्ध भएका थिए।
एफसी चितवनले भरत खवासलाई मार्की खेलाडी र मेघराज केसीलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ।
काठमाडौं रेजर्सले गोलकिपर विकेश कुथुलाई मार्की खेलाडीको रुपमा सम्झौता गरेको छ। काठमाडौंको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भए। बालगोपाल राष्ट्रिय फुटबल टिमका प्रशिक्षक समेत हुन्।
एनएसएलमा सहभागी अर्को टिम विराटनगर सिटी एफसीले रन्जित धिमाललाई मार्की खेलाडीको रुपमा सम्झौता गरेको छ।
बुटवल लुम्बिनी एफसीमा गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडीको रुपमा अनुबन्धन भएका छन्। बुटवलले सुयोग शाक्यलाई प्रशिक्षक नियुक्त गरेको छ। राजुकाजी शाक्यलाई म्यानेजर रुपमा अनुबन्धन गरिएको बुटवलले जनाएको छ।
पोखरा थन्डर्सको मार्की खेलाडीमा फरवार्ड नवयुग श्रेष्ठ अनुबन्धन भएका छन्।
एनएसएलको अक्सन शुक्रबार विहान ११ बजेदेखि सोल्टी होटलमा हुँदैछ। अक्सनबाट सहभागी सात टिमले आफ्नो टिममा खेलाडी आबद्ध गर्न सक्नेछन्।
एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट हुनेछन्।
अक्सनका लागि बिहीबार १५८ फुटबलरको नाम सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्सनका लागि ए, बी र सी गरी तीन श्रेणीका खेलाडीको नाम सार्वजनिक गरेको हो।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।