आगामी चैत १० देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको एक खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२ हजार टिकट बिक्रि गर्ने भएको छ।
रंगशालाको क्षमता १५ हजार भए पनि १२ हजार मात्र टिकट बिक्रि गर्ने एन्फाका प्रवक्ता किरण राईले बताए।
उनका अनुसार साधारण प्यारापिटतर्फको १० हजार पाँच सय र भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्रि गरिनेछ। जसमा साधारणतर्फको टिकट मुल्य ७ सय रुपैयाँ र भिआइपीतर्फको टिकट मुल्य १५ सय रुपैयाँ तोकिएको छ।
नेपाल, बंगलादेश र किर्गिस्तान यु२३ टिमबीच हुने प्रतियोगिताको विजेतालाई ५ हजार अमेरिकी डलर पुरस्कार दिइनेछ।
यस्तै उपविजेताले ३ हजार डलर प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र म्यान अफ दि म्याचलाई २५० डलर दिइनेछ।
प्रतियोगिताबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाको भनाइ छ। जसमध्ये १ करोड रुपैयाँ खर्च हुनेछ।
एन्फाले टिकट, प्रायोजन र टेलिभिजन अधिकारबाट आम्दानी गर्ने बताएको छ।
प्रतियोगिताका लागि बंगलादेशको टिम बिहीबार नेपाल आइपुग्नेछ। यस्तै किर्गिस्तानको टिम आइतबार नेपाल आइपुग्नेछ।
हाल भारतको आइ लिग खेलिरहेका गोलकिपर किरण चेमजोङ र फरवार्ड अभिषेक रिजाल नेपाल आउने प्रक्रियामा रहेको एन्फाको भनाइ छ। दुवै खेलाडीलाई रिलिज गर्नका लागि सम्बन्धित क्लबलाई पत्रचार गरिएको एन्फा प्रवक्ता राईले बताए।
कपको पहिलो खेलमा आगामी चैत १० गते किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। चैत १२ गते दोस्रो खेलमा नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै चैत १४ गते नेपाल र बंगलादेश भिड्नेछन्।
तीन टिम एकआपसमा प्रतिस्पर्धा गरेपछि अंक तालिकाको शीर्ष टिम र दोस्रो टिमबीच चैत १६ गते फाइनल हुनेछ।
दशरथ रंगशालामा हुने सबै खेल साँझ ५:३० मा सुरु हुनेछ।
दशरथ रंगशालामा तय भएको नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोटको खेल कोरोनाका कारण स्थगित भएपछि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको हो।
कपका लागि हाल बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडी मध्येबाट नेपालको राष्ट्रिय टिम घोषणा गरिनेछ।