नेपाल सुपर लिग (एनएसएल) टिम धनगढी एफसीको प्रशिक्षकमा नाइजेरियाका तोपे आयोजेजी फुजा नियुक्त भएका छन्।
गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले प्रशिक्षकको रुपमा फुजालाई अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गरेको छ।
उनको नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो। उक्त उपाधि जितेसँगै नेपालको शीर्ष श्रेणीको लिगमा मनाङले कीर्तिमानी आठौं उपाधि उचालेको हो।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए।
त्यसपछि भारतमा रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, मोहम्मडन स्पोटिङ र चेन्नई एफसीको टिम सम्हालेका थिए।
त्यसपछि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए। गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो।
नवनियुक्त प्रशिक्षक तेपे फुजाले धनगढीसँग अनुबन्धन हुन पाउँदा खुशी लागेको बताए। उनले आफूहरुको लक्ष्य उपाधि जित्नु रहेको बताए।
‘नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा खुसी र उत्साहित छु,’ उनले भने, ‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन। क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु। र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो।'
धनगढीले यसअघि नै राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट हुनेछन्। अक्सन आगामी शुक्रबार गर्ने आयोजनको भनाइ छ।