नेपाल सुपर लिग (एनएसएल) टिम एफसी चितनवले राष्ट्रिय टिमका फरवार्ड भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ।
चितवनको स्वामित्व लिएको आइएमई ग्रुपअन्तर्गतको गेम अन प्रालिले भरतलाई आफ्नो प्रमुख खेलाडीको रुपमा भित्र्याएको हो।
चितवनले मेघराज केसीलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको छ। थ्रीस्टार क्लबको प्रशिक्षकबाट राजीनामा दिएका केसी एनएसएलमार्फत पुन: नेपाली फुटबलमा फर्किएका हुन्।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्य भरत त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन्।
२९ वर्षीय भरतले सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता एन्फा एकेडेमीका उत्पादन भरतले राष्ट्रिय टिमबाट ५५ खेल खेल्दा १० गोल गरेका छन्।
एनएसएलमा चितवनसँगै विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि धनगढीले विशाल राई र ललितपुरले अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्र्याएको थियो।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट हुनेछन्। अक्सन आगामी शुक्रबार गर्ने आयोजनको भनाइ छ।