स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
रियलले इटालियन क्लब एटलान्टालाई अन्तिम १६ को खेलमा समग्रमा ४-१ ले पछि पारेर अन्तिम आठमा स्थान बनाएको हो।
पहिलो लेगमा १-० ले विजयी भएको रियल मंगलबार राति भएको दोस्रो लेगमा ३-१ गोलले विजयी भयो।
खेलको ३४ मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले अग्रता लियो। ६० मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट रियलको अग्रता दोब्बर पारे।
८३ मिनेटमा एटलान्टाका मुरिएलले गोल फर्काउँदा खेल २-१ को स्थितिमा आएको थियो। लगत्तै एसेन्सियोले रियलका लागि तेस्रो गोल गरेका थिए।
रियल पछिल्ला तीन सिजनमा च्याम्पियन्स लिगको अन्तिम आठमा पहिलो पटक प्रवेश गरेको हो।