आगामी वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा सहभागी सात* शहरका टिम घोषणा गरिएको छ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आइतबार टिम घोषणा गरेको हो।
जसमा प्रदेश १ बाट विराटनगर सिटी एफसी रहेको छ। यसको स्वामित्व अनुपरञ्जन भट्टराईले लिएका छन्। उनी नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक हुन्।
एनएसलको अर्को काठमाडौं रेजर्स एफसी हो। काठमाडौंको स्वामित्व यमाहा नेपालको मोरङ अटोले लिएको छ।
बागमती प्रदेशको दोस्रो टिम ललितपुर सिटी एफसी रहेको छ। ललितपुरलाई भाटभटेनी सुपरमार्केटले लिएको छ।
एफसी चितवन एनएसएलमा भाग लिने चौथो टिम हो। चितवनको स्वामित्व आइएमई समूहका रहेको छ।
हुन्डाइ गाडीको आधिकारिक ब्रिकेता लक्ष्मी ग्रुपले पोखरा थन्डर्सको स्वामित्व लिएको छ।
बुटवल लुम्बिनी एफसी एनएसएलमा भाग लिने अर्को टिम हो। बुटवलमा बैंक, हाइड्रो पावर र बित्तिय संस्थामा आबद्ध व्यक्तिको स्वामित्व रहेको छ।
धनगढी एएसी सुदूशपश्चिमबाट प्रतिधित्व गर्ने टिमको रुपमा रहेको छ। सुदूरपश्चिम एकेडेमीका कार्यकारी निर्देशक तथा धनगढी प्रिमियर लिगका अध्यक्ष सुवास शाहीले धनगढीको स्वामित्व लिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने एनएसएल आगामी वैशाख ११ देखि हुनेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताका खेलहरू दशरथ रंगशालामा हुनेछन्।
अक्सनको माध्यमबाट खेलाडी छनोट गरेर टिम बनाइनेछ। हरेक टिममा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी खेलाडी राख्न पाइनेछ। प्लेइङ-११ मा दुई जना विदेशी खेलाडीले मात्र खेल्न पाउने आयोजकको भनाइ छ।
अक्सनका लागि नेपालका खेलाडीलाई ए, बी, सी र डी श्रेणीमा विभाजन गरिनेछ। जसमा प्रत्येक श्रेणीको कोटा निर्धारण गरिनेछ।
*सात हुनु पर्नेमा आठ भएकोमा सच्याइएको