इंग्लिस लिग लिडर म्यानचेस्टर सिटीका अर्जेन्टाइन फरवार्ड सर्जियो अग्युरोले १४ महिनापछि लिगमा गोल गरेका छन्।
अग्युरोले शनिबार राति प्रिमियर लिगअन्तर्गत फुलहमविरुद्धको खेलमा गोल गरेका हुन्। उनले पछिल्लो पटक सन् २०२० को जनावरीमा गोल गरेका थिए।
उनले त्यतिबेला सेफिल्डविरुद्ध गोल गरेका थिए। सेफिल्डविरुद्ध गोल गरेको ४१७ दिनपछि अग्युरोले प्रिमियर लिगमा गोल गरेका हुन्।
यो बीचमा घाइते भएका कारण अग्युरोले खेल गुमाउनका साथै फर्ममा फर्कन संघर्ष गरेका थिए।
अग्युरोले गोल गरेको खेलमा म्यानचेस्टर सिटी ३-० गोलले विजयी भयो।
सिटीका लागि स्टोन्सले ४७ मिनेटमा पहिलो गोल गर्दा जेससले ५६ मिनेटमा अग्रता दोब्बर पारे। अग्युरोले ६० मिनेटमा पेनाल्टीमा टिमका लागि तेस्रो गोल गरे। यता चेल्सीलाई भने लिड्स युनाइटेडले गोलरहित बराबरी रोक्यो।
लिगमा शीर्ष स्थानको सिटीले ३० खेलबाट ७१ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ।
तेस्रो स्थानको लेस्टरको २८ खेलबाट ५३ अंक र चौथो स्थानको चेल्सीको २९ खेलबाट ५१ अंक छ।