आगामी चैत २१ देखि पोखरामा हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा यसपटक ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्।
विगतमा १० देखि १२ टोलीको सहभागिता रहेन आहा रारामा यसपटक भने कोरोना महामारीका कारण ८ वटा टोलीले भाग लिएको आयोजकले जानकारी दिएको छ।
कोरोना विश्वमा प्रवेश गरिरहँदा समेत सामना गर्दै गत वर्ष प्रतियोगिता आयोजना गरेको सहारा क्लब पोखराले १९ औं संस्करणको आयोजनाको तयारीलाई तीब्र पारेको छ।
देशको विषम परिस्थितिमा समेत आयोजना हुदैँ आएको प्रतियोगितामा यो वर्ष पनि एक विदेशी टिमले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीसहित नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरून र आयोजक सहारा क्लब सहभागि हुनेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैँया प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन्।