सिजन २००४-०५ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोबिहीन बनेको छ।
बुधबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा फ्रेञ्च क्लब पिएसजीसँग १-१ गोलको बराबरी खेलेको बार्सिलोना समग्रमा ५-२ ले पछि पार्यो। जससँगै बार्सिलोना र मेसीको अन्तिम ८ पुग्ने लक्ष्य समाप्त भयो।
रोनाल्डो आबद्ध इटालियन क्लब युभेन्ट्स भने पोर्चुगिज क्लब पोर्टोसँग अन्तिम १६ मा अवे गोलमा पछि पर्दै बाहिरियो।
सन् २००४-०५ पछि मेसी र रोनाल्डो दुवैले अन्तिम ८ को खेल गुमाएको यो पहिलो पटक हो।
त्यतिबेला बार्सिलोनालाई इंग्लिस क्लब चेल्सीले अन्तिम १६ मा पराजित गरेको थियो। रोनाल्डो त्यो बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध थिए। युनाइटेडलाई सो सिजनमा इटालियन क्लब एसी मिलानले अन्तिम १६ मा हराएको थियो।
सन् २००५ देखिको सिजनमा भने मेसी र रोनाल्डो आबद्ध क्लबले च्याम्पियन्स लिगमा दबदबा कायम राखे।
पछिल्लो १६ वर्षमा रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जिते। मेसीले चार पटक उपाधि उचाल्न सफल भए। मेसीले च्याम्पियन्स लिगको पछिल्लो उपाधि सन् २०१४-१५ को सिजनमा जितेका थिए।
बार्सिलोनाले पछिल्लो १३ वर्षमा पहिलो पटक अन्तिम आठमा पुग्न असफल भयो। बार्सिलोना पछिल्लो पटक सन् २००६-०७ को सिजनमा अन्तिम आठमा पुग्न सकेको थिएन। त्यतिबेला बार्सिलोनालाई लिभरपुलले अन्तिम १६ मा पराजित गरेको थियो।
खेल अरिअरको उत्तरार्धमा आइपुगेका मेसी ३३ वर्ष र रोनाल्डो ३६ वर्षका भए। दुवै खेलाडीले क्लब करिअरमा उच्चतम सफलता हासिल गरिसकेका छन्।