जर्मन क्लब बोरुसिया डर्टमुन्ड युरोपियन च्याम्पिन्स लिगको अन्तिम आठमा पुगेको छ।
अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिए पनि डर्टमुन्ड समग्रमा ५-४ को जित निकालेर अन्तिम आठमा पुगेको हो। यसअघि भएको पहिलो लेगमा डर्टमुन्डले ३-२ को जित निकालेको थियो।
मंगलबार राति भएको खेलमा डर्टमुन्डका लागि इर्लिङ हाल्यान्डले दुवै गोल गरे। उनले ३५ मिनेटमा पहिलो गोल गर्दा ५४ मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे।
सेभियाका लागि योउसेफले दुवै गोल गरे। उनले खेलको ६८ मिनेटमा पेनाल्टीमा पहिलो गोल गर्दा दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा दोस्रो गोल गरे।
सेप्टेम्बर २०१९ मा च्याम्पियन्स लिगमा डेब्यू गरेका हाल्यान्डले २० गोल गरिसकेका छन्।
उनले च्याम्पियन्स लिगका चार खेलमा २-२ गोल गरेका छन्। कुनै पनि खेलाडी च्याम्पियन्स लिगको चार खेलमा लगातार २-२ गोल गरेको यो पहिलो पटक हो।
यस्तै उनको डेब्यू यता च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने हाल्यान्ड नै खेलाडी हुन्। उनले सेप्टेम्बर २०१९ यता २० गोल गर्दा दोस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले १९ गोल गरे।
उनी २१ वर्ष लाग्नुअघि २० गोल गर्ने पहिलो खेलाडी बने। २१ लाग्नुअघि सर्वाधिक गोल गर्ने कीर्तिमान एमबाप्पेको नाममा थियो। उनले १९ गोल गरेका थिए।
उनी कम खेलमा २० गोल पूरा गर्ने पहिलो खेलाडी बने।