नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिलिप्सलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो। एन्फाको प्राविधिक समितिले महिला टिमको प्रशिक्षकका लागि पाँच जनाको नाम सिफारिस गरेकोमा फिलिप्स नियुक्त भएका हुन्।
फिलिप्ससँगको सम्झौता १ जनावरी २०२१ देखि लागु हुनेछ। उनले अब नेपाली महिला टिमको प्रशिक्षण छिट्टै सुरु गर्ने एन्फाले जनाएको छ।
नेपाली महिला टिमले एएफसी वुमेन्स एसियन च्याम्पियनसिप २०२२ छनोट खेल्दैछ।
यसअघि फिलिप्स सन् २०१९ मा एन्फाको प्राविधिक निर्देशक नियुक्त भएका थिए। त्यतिबेला उनले नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक, प्रशिक्षण कार्यक्रम र एन्फाको अन्य प्राविधिक पक्ष हेरेका थिए।
सन् १९६३ जन्मिएका उनी अस्ट्रेलियाका पूर्व फुटबलर हुन्। उनले अस्ट्रेलियामा कम्युनिटी फुटबल एकेडेमी स्थापना गरेका थिए। उनको एकेडेमी लन्डनको किनिटिक फुटबल एकेडेमी, लिभरपुल र म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो।
सन् १९९७ मा फुटबलबाट संन्यास लिएपछि उनी सिड्नी ओलम्पिकका लागि प्रशिक्षक नियुक्त भएका थिए।
मलेसियाको सुपर लिगको टिमको समेत प्रशिक्षक रहेका उनले सन् २०१५ मा पपुवा न्युगिनीको महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा पाएका थिए।