अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र स्पेनिस महारथी क्लब बार्सिलोनाबीचको सम्झौता यहि सिजनको अन्त्यदेखि सकिँदैछ।
त्यसपछि मेसीको फुटबल करिअर कसरी अघि बढ्ला भन्ने विषयमा अहिले फुटबलप्रेमीलाई चासो छ। मेसीले बार्सिलोलना छाड्ने विषयमा मिडियाले विभिन्न रिपोर्ट सार्वजनिक गरिरहेका पनि छन्।
तर स्वयम् मेसीले बार्सिलोनामै बस्ने वा अन्य क्लबमा जाने विषयमा सिजनको अन्त्यमा मात्र निर्णय लिने बताइसकेका छन्। उनी अहिले आफू खेलमै केन्द्रित हुन चाहिरहेका छन्।
मेसीले सार्वजनिक रुपमा सिजनको अन्त्यपछि मात्र क्लबमै बस्ने वा नबस्ने निर्णयले लिने बताएको अवस्थामा उनको भविष्य सिजनअघि हुने घटनाले निर्धारण गर्नेछ।
मेसीले बार्सिलोनाको अध्यक्ष पदका लागि मार्च ७ मा हुने निर्वाचन कुरिरहेका छन्। जुवान लापोर्टा अध्यक्षमा विजयी भए मेसी बार्सिलोनामै बस्ने सम्भावना बढि रहेको दाबी गरिएको छ। तर पनि फुटबल व्यवस्थापनमा छिनछिनमै परिवर्तन हुने माहोलले लापोर्टा विजयी भए पनि मेसी बार्सिलोनामा बस्छन् भन्ने ठोकुवा गर्न सकिने स्थिति भने छैन।
लापोर्टाले मेसीलाई क्लबमा राख्न विभिन्न रणनीति बनाएका छन्, जसले मेसीलाई बार्सिलोनाबाट खेल्न सहज होस्। बार्सिलोनाले एन्टोनी ग्रिजम्यान, उस्मान डेम्बेले जस्ता खेलाडी बेचेर २ सय मिलियन युरो आम्दानी गर्ने लक्ष्य लापोर्टाको छ।
यस्तै बार्सिलोनाले वार्यन म्युनिखका सेन्टर ब्याक डेभिड अलाबा, म्यानचेस्टर सिटीका लेफ्ट ब्याक इरिक गार्सिया जस्ता खेलाडी भित्र्याउन चाहेको छ। यसैगरी इर्लिङ हाल्यान्ड जस्ता प्रभावशाली युवा फरवार्ड भित्र्याउने विषयमा लापोर्टा सकारात्मक छन्।
बार्सिलोनाका लागि जारी सिजन राम्रो बन्न सकिरहेको छैन। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई पिएसजीले ४-१ गोलले पराजित गरेको थियो।
ला लिगाको तेस्रो स्थानमा रहेको बार्सिलोना कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा पराजित भएको थियो। बार्सिलोनालाई पहिलो लेगमा सेभियाले २-० गोलले पराजित गरेको थियो।
बार्सिलोनाले प्रतिस्पर्धी क्लबहरू रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र सेभियालाई २०१९ देखि हराउन सकेको छैन। यो सिजनका बाँकी खेलमा यी क्लबसँग भिड्दा मेसीले कस्तो महसुस गर्छन् भन्ने प्रश्न पनि छ।
अहिलेसम्म मेसीले अध्यक्षमा पदका लागि प्रतिस्पर्धा गरिरहेका उम्मेदवारसँग कुरा गरेका छैनन्। सायद उनले नयाँ अध्यक्षलाई कुनै योजना सुनाउने छैनन्। उनले अध्यक्षका योजना भने पक्का सुन्नेछन्र। त्यसपछि उनले आफ्नो भविष्यको निर्णय गर्नेछन्। जुन निर्णय उनको जीवनकै ठूलो निर्णय बन्नेछ।
त्यतिबेलासम्म इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेञ्च क्लब पिएसजीले मेसीलाई कुरिरहनेछन्।