उरुग्वेका फरवार्ड लुइस सुआरेज मैदानभित्र देखाउने हर्कतका कारण आलोचित छन्।
सन् २०१४ को विश्वकपमा विपक्षी खेलाडी टोकेका कारण प्रतिबन्धमा परेका सुआरेजले मंगलबार भएको युरोपियन च्याम्पियन्स लिगको खेलमा विपक्षी खेलाडीलाई चिमोटेका छन्।
यहि सिजन स्पेनिस महारथी क्लब बार्सिलोना छाडेर एट्लेटिको म्याड्रिड गएका सुआरेजले मंगलबार राति चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरलाई चिमोटेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
जर्मन डिफेन्डर रुडिगरसँग बलका लागि संघर्ष गरिरहेका बेला एट्लेटिकोका फरवार्ड सुआरेजले तिघ्रामा चिमोटेको देखिएको छ।
आफूलाई चिमोटेपछि रुडिगरले आक्रमक हुँदै सुआरेजलाई धेकेलेका थिए।
अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो।
सुआरेजले अनुशासनहिन काम गरेको पहिलो पटक होइन।
सन् २०१४ को विश्वकपमा उरुग्वेबाट खेल्दा उनले इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेका थिए। जसका कारण उनीमाथि नौ खेल र चार महिना प्रतिबन्ध लगाउनुका साथै १ लाख १२ हजार डलर जरिबाना गरिएको थियो।
त्यस्तै सन् २०१३ मा लिभरपुलबाट खेल्दा चेल्सीका डिफेन्डर ब्रानिस्लाभ इभानोभिचको हातमा टोकेको कारण सुआरेजलाई १० खेल प्रतिबन्ध लगाइएको थियो।
सन् २०१० मा डच क्लब आयक्सबाट खेल्दा पीएसभी आइन्होभेनका मिडफिल्डर ओटमर बाकलको काँधमा टोकेपछि सुआरेज खेलमा प्रतिबन्ध परेका थिए।