फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित्ने भएको छ।
लिग अन्तर्गत गए राति भएको खेलमा साबिक विजेता मोनाकोमाथि ७–१ को फराकिलो जित निकाल्दै पिएसजीले लिगमा पाँच खेल अगावै उपाधि जित्ने पक्का भएको हो।
स्टार खेलाडी नेइमार बिना घरेलु मैदानमा पिएसजीले साबिक विजेतामाथि गोल वर्षा गर्यो। पिएसजीको जितमा लो सेल्सो र एन्जल डी मारियाले २-२ तथा एडिसन काभानी र जुलियन ड्रेक्सलरले १-१ गोल गरे। थप एक गोल पिएसजीले उपहार पाएको थियो।
मोनाकोका लागि रुनी लोपेसले ३८ औं मिनेटमा एक गोल फर्काएका थिए।
कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार चोटका कारण लामो समय यता मैदान बाहिरै छन्।
लिगका पाँच खेल बाँकी हुँदै उपाधि जितेको पिएसजीको यो खेलसँगै ८७ अंक भएको छ। दोस्रो स्थानको मोनाकोको ७० अंक छ। पिएसजी मोनाको भन्दा १७ अंकले अघि रहेको छ।
पिएसजीले गएको महिना मोनाकोलाई ३–० ले हराएर फ्रेन्च लिग कपको उपाधि उचालेको थियो। च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिए पनि पिएसजीले घरेलु लिगमा भने राम्रो गरिरहेको छ ।