डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसमाथि शानदार जित निकालेको छ।
मंगलबार राति भएको पहिलो लेगमा युभेन्टसलाई ३–० ले हराउँदै रियलले शानदार जित निकालेको हो ।
क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा रियलले साबिकको उपविजेता समेत रहेको युभेन्टसलाई उसैको मैदानमा हराएको हो। रियलको जितमा रोनाल्डोले दुई गोल गर्दा मार्सेलोले थप एक गोल गरे।
क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका हुन्।
खेलमा रोनाल्डोले तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए।
पहिलो हाफमा इटालियन क्लबले बराबरी गर्ने मौका बनाएको थियो । तर सफल हुन सकेन । यस्तै रियलका टोनी क्रुजले गोल गर्दै अग्रता दोब्बर बनाएने प्रयास गरेका थिए । तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।
पहिलो हाफमा गोल गर्दै च्याम्पियन्स लिगका लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले दोस्रो हाफमा निकै सुन्दर गोल गरे । ६४ औँ मिनेटमा रोनाल्डोले सुन्दर बाइसाइकल गोल गरे ।
ड्यानी कार्वाहालले रोनाल्डोलाई क्रस दिए । रोनाल्डोले हावामा उडेर एरोबाटिक किक हान्दै युभेन्टसका जियानलुइजी बुफोनलाई छलेर बाइसाइकल गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
त्यसको दुई मिनेटपछि पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।
७२ औँ मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले पहिलो लेगमा ३–० को जित निकाल्दै अन्तिम ४ को यात्रालाई केही सजिलो र धेरै सम्भावनायुक्त बनायो ।
युभेन्टसविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका ३३ बर्षीय रोनाल्डोले अहिलेसम्म ११९ गोल गरेका छन् । रोनाल्डोले सर्वाधिक गोलकर्ताको सुचिमा बार्सिलोनाका स्टार लियोनल मेस्सीमाथि १९ गोलको अग्रता कायम राखेको छ ।
पहिलो लेगमा फराकिलो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १२ मा रियलको मैदानमा हुनेछ । रियललाई सेमिफाइनलमा पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी खेलेले पुग्नेछ । युभेन्टसलाई भने फराकिलो जित बाहेक अन्य विकल्प छैन ।
https://www.youtube.com/watch?v=nkRwEfkNc7w