पछिल्लो समय उत्कृष्ट लयमा रहेका क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट पनि गएराति सानदार प्रदर्शन गरेका छन्।
विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल र इजिप्टबीच शुक्रबार राति भएको मैत्रीपूर्ण खेललाई अहिले युरोपमा सबैभन्दा राम्रो लयमा रहेका दुई खेलाडी रियल मड्रिडका रोनाल्डो र लिभरपुलका मोहमद सालहबिचको प्रतिस्पर्धाका रुपमा हेरिएको थियो । तर बाजी भने रोनाल्डोले मारे ।
ज्यूरिचमा भएको खेलमा रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले इजिप्टलाई २-१ ले हरायो।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो। खेलको ५६ औं मिनेटमा सालहले गोल गर्दै इजिप्टलाई सुरूवाती अग्रता दिलाए।
खेलको निर्धारित समयसम्म पछि परेको पोर्चुगलका लागि इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
इन्जुरी समयको दोस्रो मिनेटमा टिमका लागि बराबरी गोल फर्काएका रोनाल्डोले इन्जुरी समयकै चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए।