रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले रियलमा रहन सर्त अगाडि सारेका छन्।
लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको उपाधि जितेका उनले गएको सिजनमा क्लबलाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।
पटक पटक रोनाल्डोले क्लब छाड्न चाहेको समाचार बाहिर आएपछि उनले क्लब छाड्नेबारे एउटा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
कर छली प्रकरणमा मुछिएपछि रूष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबरमा बताइएको थियो । रोनाल्डो आफैंले भने यस विषयमा केही तर्क दिएका थिएनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय खबरका अनुसार रोनाल्डोले क्लबमा रहन रियल म्याड्रिड सामु एक सर्त राखेका छन् ।
डेली मिररका अनुसार रोनाल्डोले क्लबसामू आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन्।
यसैबीच क्लबका प्रशिक्षक जिनेदिन जिदान, कप्तान सर्जियो रामोसले रोनाल्डोलाई रियलमा नै रहन आग्रह गरेका छन्।
उता, रियल छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् । समाचार अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) रियलका स्टार फरवार्डलाई भित्र्याउन १ सय ४० मिलियन युरो तिर्न तयार रहेको बताएको छ।
क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ ।
उता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ।