इटालीको राष्ट्रिय फुटबल टिमका डिफेन्डर र सिरी आ क्लब फिओरेन्टिनाका कप्तान डेविड एस्टोरी आइतबार बिहान ओछ्यानमा मृत फेला परेका छन्।
उडिनेजीसँगको आइतबारको सिरी आ खेलअघि उनी ला दि मोरेट होटेलको कोठामा मृत फेला परेको इटालीका स्ठानीय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार बिहान उनी ब्रेकफास्ट खान आएनन्। अन्य खेलाडीले गरेको फोन पनि उठेन। त्यसपछि उनको कोठाको ढोका फोडेर हेर्दा एस्टोरी ओछ्यानमा पल्टिरहेका थिए। छामेर हेर्दा उनको शरीर चिसो भइसकेको थियो।
उनको हृदयघातको कारणले मृत्यु भएको आशंका गरिएको छ।
३१ वर्षीय एस्टोरी दुई हप्ता अघिमात्रै बुवा बनेका थिए।
उनले इटालीको राष्ट्रिय टिमबाट १४ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एस्टोरीको सम्मानमा आज हुने सिरी आका सबै खेलहरु स्थगित गरिएको छ।