स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई ३ – १ ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए।
सान्टियागो बर्नेबेउमा खेलको २४ औं मिनेटमा बेलले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। खेलको ४५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २ – ० ले अघि रह्यो।
खेलको ४७ औं मिनेटमा गेटाफे १० खेलाडीमा सीमित भयो। लोइक रिमी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो। गेटाफे १० खेलाडीमा समेटिए पनि एक गोल फर्काउन सफल भयो। खेलको ६५ औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै खेल २ – १ मा ल्याए। तर, खेलको ७८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ३ – १ ले विजयी भयो।
गेटाफेमाथि दुई गोल गरेसँगै रोनाल्डोले घरेलु मैदानमा आफ्नो ३ सयौं गोल पुरा गरे। जितसँगै तेस्रो स्थानको रियल मड्रिडले २७ खेलबाट ५४ अंक जोडेको छ। पराजित गेटाफे ३६ अंक जोडेर लिगको दशौं स्थानमा छ। बार्सिलोना ६६ अंक जोडेर लिगको शीर्ष स्थानमा र ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ।