एपिएफलाई हराउँदै तेस्रो हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा शनिबार मनाङले एपिएफलाई १-०ले हराउँदै विजयी सुरूवात गरेको हो। मनाङको जितमा लागि सुजल श्रेष्ठले गोल गरे।
एपिएफका सुरज गुरुङले मनाङका विदेशी खेलाडी भिक्टरलाई डि बक्स भित्र लडाएपछि मनाङले खेलको २८ औं मिनेटमा पेनाल्टी पाएको थियो।
जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको म्यान अफदी म्याच मनाङका अन्जन विष्ट भए।
मनाङले यो सिजन चितवनमा जेसिज कप र दुहवी गोल्डकप उपाधि जितिसकेको छ ।
प्रतियोगितामा मनाङ, सशस्त्रसहित संकटा क्लब, थ्रीस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौंडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरी ८ टिमको सहभागिता रहेको छ ।
फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।