च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बुधबार राति रियल म्याड्रिड र पिएसजी भिड्दैछन्। रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा राति साढे १ बजे हुने खेलमा रोनाल्डो र नेइमार आमने सामने हुन लागेका हुन्।
रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछि सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो। पछिल्ला दुई सिजन च्याम्पियन्स लिग उपाधि जितेको रियल म्याड्रिड यो सिजन खराब लयमा खेलिरहेको छ।
अर्को तर्फ पिएसजी भने घरेलु लिग तथा च्याम्पियन्स लिगको समूह चरणमा निकै राम्रो लयमा देखिएको छ। पिएसजीमा हालै महंगो रकममा आवद्ध नेयमार यस सिजनपछि रियल जाने हल्लाले निकै चर्चा पाएको छ।
सिजन खराब चले पनि यसै साता रियल सोसाइडाडलाई ५-२ ले हराउँदै उत्कृष्ट पुनरागमन गरेको रियलका लागि रोनाल्डोले ह्याट्रिकसमेत गरेका थिए।
समर्थक र प्रशंसकहरुले यस खेलको महिनौंदेखि प्रतिक्षा गरिरहेका छन् । टिकट खुलेको केहि समयमा नै पुरा ८० हजार टिकट खरिद भइसकेको थियो। यसअघि यी दुई टोलीको भिडन्तमा पिएसजी ३-१ ले विजयी भएको थियो।