लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो। बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले गेटाफेको पोष्टमा आधा दर्जन आक्रमण गरेको थियो । तर, बार्सिलोना गोल गर्न भने चुकेको थियो । यता, गेटाफेले पनि केहि गोलको अवसर खेर फालेको थियो ।
२३ खेलपछि बार्सिलोना लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। मेसीले पनि बार्सिलोनालाई कुनै गोल दिलाउन सकेनन्। पहिलो हाफमा बार्सिलोनाका तर्फबाट लुइस सुवारेजले गरेको प्रहार अफसाइड भएपछि बार्सिलोनाको निराशा सुरु भएको थियो।
यो बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडविरुद्ध ९ अंकको अग्रता बनाउनबाट चुकेको छ । बराबरीपछि लिग लिडर बार्सिलोनाको ५९ अंक छ। एथ्लेटिको मड्रिडको ५२ अंक छ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भ्यालेन्सियाले लेभान्टेलाई ३ – १ ले हराएको छ । जितसंगै तेस्रो स्थानको भ्यालेन्सियाले ४३ अंक जोडेको छ । यस्तै सेभियाले जिरुनालाई १ – ० ले हराउदा सेल्टा भिगो र स्पानियोलले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।