लिग लिडर म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । शनिबार राति लेष्टर सिटीलाई ५–१ ले हराउँदै म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीका लागि सर्जियो अग्यूरोले ह्याट्रिकसहित ४ गोल गरे। यस्तै सिटीका लागि एक गोल रहिम स्ट्रलिङले गरे। लेष्टरका लागि जेमी भर्डीले एक गोल फर्काएका थिए।
इदिहाद स्टेडियममा सिटीले खेलको तेस्रो मिनेटमै स्ट्रलिङको गोलबाट सुरुवाती अग्रता लिएको थियो। तर, खेलको २४ औं मिनेटमा लेष्टरका भर्डीले गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रमक देखिएको सिटीले थप ४ गोल थप्यो। सिटीका लागि अग्यूरोले बाँकी सबै चार गोल गरे।
खेलको ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाएका उनले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गर्दै सिटिको अग्रता दोब्बर पारे। खेलको ७७ औं मिनेटमा अग्युरोले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसपछि उनी रोकिएनन्। खेलको ९० औं मिनेटमा चौथो गोल गर्दै अग्यूरोले सिटीलाई ५-१ को फराकिलो जित दिलाए।
गएरातिको जितसँगै सिटीले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
यो जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ। सिटीले २७ खेलबाट ७२ अंक जोडेको छ। लिगमा एक खेल कम खेलेको युनाइटेडले ५६ अंक जोडेको छ।