नेपाल आर्मीलाई हराउँदै २८ औं पुरूष राष्ट्रिय फुटबल च्याम्पिएनसिपतको उपाधि पुलिसले चुमेको छ। उपाधिको लागि शनिबार घोराहीस्थित भरतपुर खेल मैदानमा भएको फाइनलमा पेनाल्टी सुट आउटबाट नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको हो।
विभागीय डर्बीमा निर्धारित ९० मिनेटसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। जसमा ५/४ गोल अन्तरले पुलिसले उपाधि जित्न सफल भयो।
नेपाल पुलिस क्लवका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजबंशी र निरकुमार राई सबैले गोल गरेका थिए। तर, आर्मीका लागि जर्जप्रिन्स कार्की, हिरण्य मगर, विबेक बस्नेत र रुपेश केसीले मात्रै गोल गर्न सकेका थिए ।
शनिबार नै भएको त्यसअघिको खेलमा पनि सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई पेनाल्टी सुट आउटमा एक गोल अन्तरले पछाडि पार्दै तेस्रो भयो।
निर्धारित समयमा कसैले पनि गोल गर्न नसकेपछि जितको छिनोफानो पेनाल्टीका आधारमा भएको हो । जस्मा सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई ४/३ गोल अन्तरले पराजित गरेको हो।
सशस्त्र प्रहरीका लागि अमृत अधिकारी, सन्तोष कटवाल, मानबहादुर राना र सुमित आलेले गोल गरेका थिए भने सुदुरपश्चिमका लागि सुनिल धामी, राजेन्द्र ठगुन्ना र राकेश कुमालले गोल गरेका थिए ।
माघ २ गते तुलसीपुरको अरनिको मैदानमा उद्घाटन भएको राष्ट्रिय पुरूष च्याम्पिएनसिपमा ५ विकास क्षेत्र र ३ विभागीय टिम गरि कुल ८ टिमका बीचमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताबाट उत्कृष्ट भएका खेलाडीलाई साफ च्याम्पियएनसिप खेल्न अवसर प्राप्त हुने छ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि मेयर चौधरीले विजयी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरेका थिए।