बंगलादेशले नेपाललाई टाईब्रेकरमा पराजित गर्दै १२ औं संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखराको बाराहीघाट खेल मैदानमा बिहीबार सम्पन्न फाईनलमा निर्धारीत समय र थप समयमा १—१ गोल भएपछि निर्णय टाइब्रेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि हात पार्यो।
काउन्टर एट्याकमा खेलको ११ औं मिनेटमा उज्वल खानले बंगलादेशको लागि अग्रता दिलाए। उपाधि उचाल्ने सपनालाई बोकेको नेपालले बराबरी भने दोस्रो हाफ कुुर्नु पर्यो । ३६ औं मिनेटमा बिनोद गुरुङले गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।
त्यसपछि खेलमा गोल भएन र खेल ट्राइब्रेकरमा धकेलियो।
टाईब्रेकरमा साजिद, असारफुल र तुहिनले नेपालको पोष्टमा गोल गरे। नेपाल लागि बिनोद गुरुङ, हरि गुरुङले गोलमा परिणत गरेपनि कप्तान रवि थापा मगरको प्रहार बंगलादेशका गोलकिपरले रोकेको थिए।
नेपाल सेभेन ए साडड फुटबल फेडेरेशनको आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधि जितेको बंगलादेशले नगद २ लाख रुपैयाँ पायो। उप विजेतामा चिक्त बुझाएको नेपालले एक लाख नगद पुरस्कार स्वरुप पायो । उत्कृष्ठ खेलाडीको पुरस्कार बंगलादेशका उज्वल खान र म्यान अफ दि म्याचको पुरस्कार बंगलादेशको गोलकिपर अजाज घोषित भए । फेयर प्लेबाट भारतलाई पुरस्कृत भयो।
विजेता खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य एवं नेपाल ओलम्पिक कमिटि अध्यक्ष जीवनराम श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल सेभेन ए साइड फेडेरेशनका अध्यक्ष नविन पुन लगायतले ट्रफी, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।